सिफारिस

ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन, कम्पनी रजिष्ट्रारको कार्यालयले पठायो पत्र

काठमाडौँ । सरकारले पछिल्लो समय विवादमा परेको ‘ग्रीन आर्मी’ लाई आफ्नो नाम परिवर्तन गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको छानबिन र निर्देशनपछि कम्पनी रजिष्ट्रारको कार्यालयले ३५ दिनभित्र संस्थाको नामबाट ‘आर्मी’ शब्द हटाउन सोमबार पत्राचार गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष सविन शर्माले सोमबार राति रातोपाटीसँग कुरा गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गर्दै गृह मन्त्रालयको छानबिनपछि नाम फेर्न निर्देशन आएको बताए । ‘गृहबाट आर्मी शब्द हटाउन निर्देशन आएपछि हामीले भोलि (मंगलबार) का लागि बोर्ड बैठक बोलाएका छौँ,” शर्माले भने, ‘बैठकबाटै यसबारे आवश्यक निर्णय गर्नेछौँ ।’

यसअघि, ग्रीन आर्मीको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसद्सम्म प्रश्न उठेको थियो । सोही आधारमा गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थाका आधिकारिक कागजातहरू मगाएर अध्ययन सुरु गरेको थियो । तत्कालीन समयमा अध्यक्ष शर्माले सरकारले मागेका सबै डकुमेन्ट बुझाइसकिएको र संस्था कानुनी रूपमै सक्रिय रहेको दाबी गरेको थियो । तर, छानबिनको निष्कर्षपछि सरकारले सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम राख्न नपाइने भन्दै नाम सच्याउन कडा निर्देशन दिएको हो ।

सैबिच, राजनीतिक वृत्तमा पनि यो संस्थालाई लिएर चर्को विरोध हुँदै आएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ‘ग्रीन आर्मी’ लाई तत्काल खारेज गर्नै माग गरेको थियो । पार्टीको केन्द्रीय संयोजन समितिले विशेष प्रस्ताव पारित गर्दै बाढीग्रस्त क्षेत्रमा दर्ज्यानी चिह्न र सेनासँग मिल्दोजुल्दो युद्ध पोसाक प्रयोग गरी भ्रम सिर्जना गरेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।पार्टी प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘गम्भीर विपद् र सङ्कटको मौका छोपी निहित स्वार्थ सिद्ध गर्न खोज्ने कुनै पनि दुष्प्रयासलाई नियन्त्रण गरियोस् । सेनासँग मिल्दोजुल्दो पोसाक र शैलीमा देखा परेको कथित ‘ग्रीन आर्मी’ भन्ने संस्था तत्काल खारेज गरियोस् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार