सिफारिस

धनगढीमा अटोको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

धनगढी । कैलालीको धनगढीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा आइतबार दिउँसो करिब ३:५० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सु.प.प्र.०१-००८ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा सु.प.प्र.०१-००२ स ६११ नम्बरको अटोले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी १८–२० वर्षीय युवकको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले दिउँसो ४:१५ बजे उनलाई मृत घोषणा गरेका हुन्।

मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनको शव मायामेट्रो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन्। उनको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र मायामेट्रो अस्पतालमै उपचार भइरहेको छ।

घटनापछि प्रहरी चौकी त्रिनगरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनञ्जयकुमार मल्लको कमान्डमा खटिएको टोलीले अटो, मोटरसाइकल र अटो चालक धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अंकित गुप्तालाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार