२९ भदौ, काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनसहितका सेवा सञ्चालन गरेका छन् ।
पशुपति क्षेत्रमा बिहान ३:१५ बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेको प्रहरीले जनाएको छ ।
दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन प्रहरीले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।
सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ । सादा पोसाकका प्रहरी तथा बर्दीमा महिला, पुरुष र विपद् उद्धार प्रहरी परिचालन गरी पशुपति क्षेत्रको सुरक्षा निगरानी बढाइएको छ । दुई सिफ्टमा सुरक्षा व्यवस्थापन मिलाइएको र त्यसका लागि २ हजार ५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एक सिफ्टमा करिब १ हजार २ सय ५० प्रहरी खटिएका छन् ।
मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल, बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स तैनाथ गरिएको छ । प्रधान कार्यालयबाट खानेपानी ट्यांकरसहितको टोली पनि रातिदेखि नै परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ ।
तीजको मेला अवधिभर कुनै अवाञ्छित गतिविधि हुन नदिन मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मीसमेत व्यापक रूपमा परिचालन गरिएको छ ।
तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी, विश्वरूपा मन्दिर, गौरीघाटलगायतका क्षेत्रमा पनि आवश्यक शान्ति सुरक्षाका लागि गस्ती बढाइएको छ ।
सुरक्षा निकायबीच आवश्यक समन्वयका लागि पशुपति मन्दिर परिसरमा कमान्ड पोस्टसमेत स्थापना गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दर्शनार्थीको सुरक्षा र सहजताका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ ।