काठमाडौं । नारायणी नदीमा बाढीले बगाएर ल्याएको शवबाट गहना लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पूर्व विनयी-त्रिवेणी गाउँपालिका वडा नम्बर १ घर भई हाल भरतपुर लीलाचोक मामाघर बसोबास गर्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका वडा नम्बर ५ घर भइ हाल भरतपुर महानगरपालिका पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने वर्षीय ३८ उमेश चौधरी रहेका छन् ।
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो । सोही बाढीमा परी बगेर आएको एउटा शव चितवनस्थित नारायणी नदी किनारमा अड्किएको अवस्थामा फेला परेको थियो ।
नदी किनारमा फेला परेको उक्त शवबाट दुई जना व्यक्तिले गहना निकालिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही भिडिओलाई आधार बनाएर खोजी तथा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।