झापा । झापाको काँकडभिट्टास्थित एक निजी विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव फेला परेको छ । मेचीनगर नगरपालिका–६ स्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय कोठामा सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएकी हुन्।
सोही विद्यालयकी शिक्षिका कविता आफ्ना श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरमा बस्दै आएकी थिइन्। वीरगञ्जका गुप्ता र उनले गत वैशाखदेखि विद्यालयमा अध्यापन शुरु गरेका हुन् ।
यता श्रीमतीको शव फेला परेसँगै विद्यालयका प्रधानाध्यापकलाई वाट्सएपमा आएको सन्देशमा गुप्ताले आफू डरका कारण हिँडेको उल्लेख गरेका छन् । हिजो दिनभर उनीहरु सम्पर्कविहीन थिए ।
हिजो अपरान्ह रतन गुप्ताले श्रीमती कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको मेसेज पठाएर कानुनी प्रक्रिया पूरा गरिदिन कोठाको ताल्चा खोलिदिन प्रधानाध्यापकलाई अनुरोध गरेका थिए।