सिफारिस

मेयर बालेनले माइतीघर डुबानको स्थायी समाधान नगरेको ठहर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्व करिब चार वर्ष सम्हालेका बालेन्द्र (बालेन) शाहले माइतीघर मण्डला वरपर हुने गरेको वर्षौंको डुबान समस्या समाधानका लागि स्थायी पूर्वाधार निर्माण पूरा नगरेको देखिएको छ। महानगर आफैंले तयार पारेको पछिल्लो प्राविधिक प्रतिवेदनले माइतीघर डुबानको मुख्य कारण ढल प्रणालीको गम्भीर इन्जिनियरिङ त्रुटिलाई औंल्याएको छ ।

नजिकै टुकुचाबाट हुने ‘ब्याक फ्लो’, प्राकृतिक जलाधारको विनाश र ढलमाथिको अतिक्रमण रहेको तर त्यस्ता दीर्घकालीन संरचनागत उपाय कार्यान्वयन नगरेकै अवस्थामा बालेन महानगरबाट राजीनामा दिएर प्रधानमन्त्री भएको अवस्था छ ।

साउन ५ गते काठमाडौंका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा भएको अनुगमनपछि गठित प्राविधिक टोलीले माइतीघरको माथिल्लो भागको ९० सेन्टिमिटरको ढल तल्लो भागमा पुग्दा ६० सेन्टिमिटरमा साँघुरिएको निश्कर्ष निकालेको छ । ‘बोटलनेक’ सिर्जना भई सामान्य वर्षामै पानी सडकमा जलमग्न हुने गरेको पाइयो ।

उता टुकुचाको सतह बढ्दा ढलको पानी उल्टै सडकतर्फ फर्किने ‘ब्याक फ्लो’ अर्को प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले तत्कालका लागि ढल सफाइ, अवरोध हटाउने र म्यानहोल सुधार गर्न सुझाउँदै दीर्घकालीन रूपमा पहिले स्वास्थ्य मन्त्रालय रहेको परिसरमा भूमिगत ठूलो पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । त्यस्तै टुकुचामा ‘नन–रिटर्न भल्भ’ जडान,ढल सञ्जालको पुनःडिजाइन तथा जीआईएस म्यापिङ गर्न सिफारिस गरिएको छ ।

यसअघि यस्ता मुख्य पूर्वाधार निर्माण सम्पन्न गरिएको थिएन । माइतीघरलगायत स्थानको डुबान समस्या बालेन मेयर हुनुअघि र रहेको समयमा भए पनि करिब चार वर्षको कार्यकालमा स्थायी समाधानतर्फ उल्लेखनीय संरचनागत प्रगति हुन नसकेकाले महानगरको कार्यसम्पादनमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार