सिफारिस

सुनसरी घटनाबारे गृहमन्त्री गुरुङले गरे आईजीपीद्वय कार्की र पौडलसित छलफल

काठमाडौं । सुनसरीमा भएको घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूलाई सिंहदरबार बोलाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दानबाहदुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख एवं आईजीपी नारायणदत्त पौडेल सिंहदरबार पुगेका हुन् ।

आइतबार (साउन १०) राति सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको थियो । सोही विषयमा गृहमन्त्री गुरुङले आईजीपीद्वयलाई छलफलका निम्ति बोलाएका हुन् । उनीहरूबीचको छलफल जारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइएको थियो ।

प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । अरू केही व्यक्ति घाइते छन् ।

सोमबारको बोलबम यात्राका निम्ति डिजेसहित हिँडेको समूहसित स्थानीयवासीको झडप भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार