धनगढी । धनगढीमा अनशनरत डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् । परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मापन भएको चिकित्सकले बताएका छन् ।
सुगरको मात्रा अत्यन्त न्यून रहेकाले स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिए थिए । डा. केसीले भने अस्पताल जान मानेका थिएनन् ।
बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य निरन्तर कमजोर भएपछि चिकित्सकहरूको आग्रहमा उनलाई उपचारका लागि अस्पताल लगिएको सहयोगी अमृत जैशीले जानकारी दिएका छन् ।
उनका अनुसार स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा मांसपेशी बाउँडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रिया भएका कारण हिँडडुल गर्न कठिन हुने तथा शौचालयसम्म जानसमेत समस्या भएको छ ।
उता, धनगढीमा डा. केसीविरूद्व उनी सत्याग्रह बसेको स्थानबाहिर कृष्ण मन्दिर क्षेत्रमा प्रर्दशनकारीहरू नाराबाजी गरिरहेका छन् । सुरक्षाका लागि सुरक्षाकर्मीको पनि बाक्लो उपस्तिथि रहेको छ ।
संर्घष समितिका संयोजक लोकराज पाण्डेका अनुसार डा. केसीले अनशन फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले डा. केसीले अनशन तोड्न नमाने आफू उनका विरुद्ध अनशन थाल्ने चेतावनी दिएका छन् ।