धनगढी। कैलालीस्थित खप्तड यातायात प्रा.लि. का शीर्ष पदाधिकारीविरुद्ध संस्थाको रकम व्यक्तिगत संयुक्त बैंक खातामा राखी हिनामिना गरेको आरोपसहित आन्तरिक राजस्व कार्यालय कैलालीमा उजुरी परेको छ। उजुरीपछि कार्यालयले औपचारिक रूपमा छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
प्राप्त जानकारीअनुसार संस्थाका अध्यक्ष अनन्तराज जोशी, कोषाध्यक्ष नरेश भट्ट र लेखा प्रमुख कल्याण सिंह कुँवर ले संस्थाकै नाममा रहनुपर्ने रकम आफ्नो संयुक्त व्यक्तिगत खातामार्फत सञ्चालन गरेको आरोप लगाइएको छ। आरोपमा मुक्तिनाथ विकास बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा तीन जनाको संयुक्त नाममा खाता खोली करिब ६० लाख रुपैयाँ राखिएको दाबी गरिएको छ।
आन्तरिक राजस्व कार्यालय कैलालीका सूचना अधिकारी छात्र माझी ले उजुरी प्राप्त भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताए। उनका अनुसार, “उजुरी आएको छ। हामी अनुसन्धानको प्रक्रियामा छौं। अनुसन्धान पूरा भएपछि मात्रै विस्तृत जानकारी दिन सकिन्छ।”
यता, आरोपबारे प्रतिक्रिया लिन खोज्दा खप्तड यातायात प्रा.लि.का अध्यक्ष अनन्तराज जोशी ले आफू बैठकमा रहेको भन्दै पछि सम्पर्क गर्न आग्रह गरेका छन्। समाचार तयार पार्दासम्म उनको विस्तृत धारणा प्राप्त हुन सकेको छैन।
कानुनी रूपमा के हुन सक्छ?
यदि खप्तड यातायात प्रा.लि. कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनी हो भने कम्पनीको सम्पूर्ण आम्दानी तथा बैंक कारोबार कम्पनीकै नाममा सञ्चालन हुनुपर्ने कानुनी व्यवस्था छ। अनुसन्धानबाट कम्पनीको रकम व्यक्तिगत वा संयुक्त निजी खातामा राखिएको पुष्टि भएमा वित्तीय अनुशासन उल्लङ्घन, विश्वासको दुरुपयोग, हिनामिना तथा करसम्बन्धी कानुनी प्रश्न उठ्न सक्छ।
यस्ता आरोप पुष्टि भएमा सम्बन्धित निकायले रकमको स्रोत र कारोबारको विस्तृत छानबिन, कर तथा लेखा परीक्षण, गैरकानुनी रूपमा प्रयोग भएको रकम असुलउपर, कम्पनी ऐन तथा प्रचलित फौजदारी र कर कानुनअनुसार कारबाही तथा आवश्यक परे अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउन सक्छ।
हाल यो विषय अनुसन्धानकै चरणमा रहेको छ। त्यसैले अनुसन्धानबाट तथ्य पुष्टि नभएसम्म कसैलाई दोषी ठहर गर्न मिल्दैन। अन्तिम निष्कर्ष सम्बन्धित निकायको अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।