सिफारिस

रास्वपा सांसदलाई कालोमसी दलेर दुर्व्यवहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालो मसी दलेर दुर्व्यवहार गरिएको छ । गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किरहेका बेला हिजो राति मास्क लगाएको २–३ जनाको समूहले सांसद पौडेलमाथि कालो मसी दलेर फरार भएको हो ।

घटनाले जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । निर्वाचित जनप्रतिनिधिमाथि गरिएको यस्तो व्यवहारलाई लोकतान्त्रिक मर्यादामाथिको आक्रमणका रूपमा हेरिएको छ ।

सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको थियो । फर्किने तयारीमा रहेका बेला पछाडिबाट आएका व्यक्तिहरूले चिनजानको मान्छेले अँगालो हालेझैँ गरी उनको ढाडमा कालो मसी दलेर भागेका थिए ।

पौडेलका अनुसार आक्रमणकारीहरूले हातमा रातो झण्डा र पर्चा बोकेका थिए। उनीहरूले आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध समूह भएको संकेत दिएको उनले दावी गरेका छन्।

घटनापछि कार्यक्रममा सहभागी स्थानीय र समर्थकहरूले लखेट्ने प्रयास गरे पनि अँध्यारोको फाइदा उठाउँदै उनीहरू भाग्न सफल भएका थिए।घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान तीव्र बनाइएको सांसद पौडेलले बताएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न मुख्य व्यक्तिको पहिचान भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै उनले ‘फगु’ (वा ‘फुगु’) भनेर चिनिने एक व्यक्तिको नाम खुलेको दावी गरे । यद्यपि घटनामा संलग्न कसैलाई पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको र खोजी जारी रहेको जनाइएको छ ।

निर्वाचित सांसदमाथि सार्वजनिक रूपमा गरिएको यस्तो दुर्व्यवहारले राजनीतिक असहमतिलाई हिंसात्मक शैलीमा व्यक्त गर्ने प्रवृत्ति बढ्दै गएको संकेत गरेको भन्दै स्थानीय स्तरमा समेत यसको आलोचना भइरहेको छ। अब दोषीलाई कानुनी दायरामा ल्याएर यस्ता गतिविधिलाई निरुत्साहित गर्न राज्य संयन्त्र कति प्रभावकारी बन्छ भन्ने प्रश्न भने उठेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार