सिरहा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट ३१ बोरा (करिब ६५२ केजी) गाँजासहित एक पिकअप भ्यान र तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटना विवरणअनुसार साउन ६ गते अपराह्न साढे ४ बजेतिर लागूऔषध बोकेको गाडी एक घरको कम्पाउण्डमा पार्किङ गरी राखेको भन्ने विशेष सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय लहान र लागूऔषध नियन्त्रण ब्युरो गोलबजारको टोली अप्रेशनमा खटिएको थियो ।
सोक्रममा नयाँ बस्ती टोलस्थित श्यामकुमारी साहको घरअगाडि कम्पाउण्डमा बा.२१ च ५८६६ नम्बरको योद्धा पिकअप गाडी पार्किङ गरिएको अवस्थामा भेटिएको र रितपूर्वक खानतलासी गर्दा ६५२ केजी (३१ बोरा र थप २ वटा प्लास्टिकमा २ किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा र गाडी तत्काल बरामद गरी संदिग्ध ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा नयाँ बस्ती टोलकी ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्यका ४० वर्षे गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साह रहेको जनाइएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।