सिफारिस

बैंकिङ कसुर अभियोगमा उच्च अदालतमा भट्ट र अग्रवालको बयान सुरु

काठमाडौं । बैंकिङ कसुरको अभियोग लगाइएका व्यावसायी दीपक भट्ट, शंकरलाल अग्रवालसहितका प्रतिवादीको बयान उच्च अदालत पाटनमा सुरु भएको छ । गएको जेठ २८ गते उनीहरुविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा यति बेला बयान चलिरहेको छ । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध मिलोमतो गरी बैंकबाट लिएको ऋण दुरुपयोग गरेको अभियोग लगाइएको छ । अभियोगपत्र दर्ता हुँदा फरार जनाइएका शंकरलाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार (साउन ६) पक्राउ गरी उच्च अदालत पाटनमा हाजिर गराएको थियो । उनको पनि बयान जारी छ ।

जगदम्बा स्टील्सले बैंकबाट लिएको ऋणलाई भट्टको खातामा पठाई इन्फिनिटी होल्डिङ्सको खातामा सारिएको जिकिर गरिएको छ । इन्फिनिटी होल्डिङ्समार्फत सेयर लगानी गरी रकमको लेयरिङ (तहकीकरण) गरिएको अभियोगपत्रमा उल्लेख छ ।

जगदम्बा स्टील्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट ‘वर्किङ क्यापिटल लोन’ (चालु पुँजी कर्जा) र छोटो अवधिको कर्जा लिएको थियो ।

औद्योगिक कच्चापदार्थ खरिद र दैनिक कार्य सञ्चालनका निम्ति लिइएको कर्जा जगदम्बा स्टील्सले दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा स्थानान्तरण गरेको दाबी अभियोगपत्रमा छ । उक्त रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद गर्न र व्यक्तिगत लाभका निम्ति प्रयोग गरिएको भन्दै बैंकिङ कसुरमा सजायको माग छ ।

यी प्रतिवादीबाट ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ सात पैसा बिगो असुलउपर गर्न सरकारी वकिल कार्यालयको माग छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ (२) (ङ) बमोजिम बिगोबराबरको जरिबाना र कैद सजायको मागदाबी गरिएको छ ।

बयानपछि थुनछेक बहस 
यो प्रकरणमा अदालतमा बयान सकिएपछि थुनछेकसम्बन्धी बहस हुनेछ । थुनछेक बहसमा भट्ट र अग्रवालसहितका प्रतिवादी र सरकारी वकिलबाट इजलाससमक्ष सुनुवाइ गरिनेछ ।

त्यसपछि प्रतिवादीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटी तारिखमा छाड्ने वा साधारण तारिख तोक्ने विषयको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार