धनगढी। सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० अनुसार यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार हुलाकी राजमार्ग क्षेत्रमा सवारी साधनहरूको निरीक्षण तथा अनुगमन गरेको छ।
यातायात व्यवस्था कार्यालयका अधिकृत पवनकुमार रावल, कार्यालयका कर्मचारी तथा ट्राफिक प्रहरी पोस्ट फुलबारीका इन्चार्ज भुवन सिंहको नेतृत्वमा गरिएको अनुगमनमा सवारी साधनहरू उद्देश्यअनुसार सञ्चालन भए–नभएको, दर्ता तथा नवीकरणको अवस्था, साथै विदेशमा दर्ता भएका सवारी साधनले आवश्यक अनुमति लिएर सञ्चालन गरेको वा नगरेको विषयमा जाँच गरिएको थियो।
टोलीले चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब, जाँचपास, मार्ग इजाजतपत्र लगायतका आवश्यक कागजातको नवीकरण अवस्था पनि परीक्षण गरेको थियो। साथै यात्रुलाई टिकट उपलब्ध गराइएको छ वा छैन तथा तोकिएको क्षमताभन्दा बढी यात्रु वा सामान बोकेको छ वा छैन भन्ने विषयमा समेत अनुगमन गरिएको जनाइएको छ।
अनुगमनका क्रममा १५० वटा सवारी साधन चेकजाँच गरिएकोमा नियम उल्लङ्घन गरी सञ्चालन गरिएका १३ वटा सवारी साधनलाई कारबाही गरिएको छ। थप ६ वटा सवारी साधनका कागजात नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था कार्यालयका अधिकृत पवनकुमार रावलले जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७९ तथा नियमावली, २०८० बमोजिम कानुन विपरीत सञ्चालनमा रहेका सवारी साधनलाई एक हजार पाँच सय देखि सात हजार रुपैयाँसम्म जरिवाना गरिएको छ।
कारबाहीमा परेका सवारी साधनबाट हालसम्म ४३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।