धनगढी । कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको छ। कैलारी गाउँपालिका–९ गदरियाका राना धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा संलग्न रहेको आरोपमा धनगढी–८ का बम्मन राना र भँगु रानालाई पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकासहित चार जनाले कुटपिट गरी हत्या गरेको र शव मोहना नदी किनारमा फालेको देखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।