धनगढी, २३ जेठ / कैलालीको गौरीगंगा नगरपालिका–१० शान्ती टोलस्थित भित्री पक्की सडकमा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब १२ः३५ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको से १ ह २६१० नम्बरको पेट्रोल अटो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
दुर्घटनामा अटो चालक गौरीगंगा–८ बढैपुरका ५१ वर्षीय शिवबहादुर चौधरीको टाउको र बायाँ कुममा चोट लागेको छ। त्यस्तै गौरीगंगा–१० का ३१ वर्षीय दिनेश पहराई, कैलारी गाउँपालिका–८ की ३६ वर्षीया रिमा धामी, उनका ४ वर्षीय छोरा पुष्प धामी, कैलारी–६ की ४२ वर्षीया रोजरानी चौधरी तथा ३२ वर्षीया चन्चला चौधरी घाइते भएका छन्।
घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको र सबैको के.बी. सौगात पोलिक्लिनिक, बढैपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेर उद्धार तथा अनुसन्धान कार्य अघि बढाएको थियो। दुर्घटनाग्रस्त अटो इलाका प्रहरी कार्यालय मसुरियाको नियन्त्रणमा रहेको छ।