सिफारिस

डिडिसी धनगढीको दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड राजस्व संकलन

धनगढी । धनगढी उपमहानगरपालिका— १५ कनरीमा रहेको दुग्ध विकास संस्थान अन्तर्गतको धनगढी दुग्ध वितरण आयोजनाले चालु आर्थिक बर्ष २०८२/८३ को हालसम्म ६ करोड बराबरको राजश्व संकलन गरेको छ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दुध संकलन गर्दै आएको दुग्ध वितरण आयोजनाले संकलन गरेको दुधलाई प्रशोधन गरी गुणस्तरीय दुध, दही, मही, पनीर, आईसक्रीम लगायतका दुग्धजन्य पदार्थहरु उत्पादन गरी स्थानीय बजारमा बिक्री गरेर सो राजस्व संकलन गरेको धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निराजन भट्टराईले जानकारी दिए।
उनका अनुसार आयोजनाबाट उत्पादित दुग्धजन्य पदार्थहरु धनगढी, अत्तरिया, डडेल्धुरा, दिपायलसम्मको बजार र हाल टीकापुर बजार क्षेत्रमा पनि बिक्री गर्ने गरिएको छ।

हाल दैनिक तीन हजार देखी तीन हजार पाँच सय लिटरसम्म दुध संकलन गर्दै आएको आयोजनाले चालु आर्थिक वर्षको हालसम्म १२ लाख लिटर दुध संकलन गरेको प्रमखु भट्टराईले जानकारी दिए। बिक्री गर्न बाँकी रहेको दुधलाई संस्थानका अन्य आयोजनामा पठाउँने गरेको उनको भनाई छ।

आयोजनाले बैशाखदेखि आसोजसम्म अर्थात् अहिले तीन हजारदेखि तीन हजार पाँच सय र कार्तिकदेखि चैतसम्म ६ देखि सात हजार लिटरसम्म दैनिक दुध संकलन गर्दै आएको छ।

“दुध उत्पादनको दूई वटा सिजन हुन्छ, कार्तिकदेखि चैतसम्म दुध उत्पादन बढी हुन्छ र बैशाखदेखि असोजसम्म दुध उत्पादन कम हुन्छ” उनले भने, “ बैशाखदेखि असोजसम्म गर्मीयाममा दही, मही आईसक्रिम लगायतको दुधजन्य पदार्थ बढी बिक्री हुने भएकोले गर्मीयामसँगै खपत बढ्छ भने दुध उत्पादन घट्छ। त्यस्तै जाडोयाममा दही मही खपत कम हुने भएकोले उत्पादन बढी खपत चाही कम हुने गर्दछ।”

आयोजनाले आइसक्रिम, जिरा मही र लस्सीलाई नयाँ उत्पादनको रुपमा बजारमा बिक्रीदर बढाएको छ भने भविष्यमा थप उत्पादनमा बृद्धि गर्ने उद्देश्य लिएको छ। डडेल्धुरा, कैलाली, र कञ्चनपुरका विभिन्न सहकारी तथा फर्मबाट दुध संकलन गर्दै आएको संस्थानले अन्य पहाडी जिल्लाबाट पनि दुध संकलन गर्ने भावी योजना रहेको बताइएको छ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगर बजार, अन्य बजारका साथै सरकारी कार्यालय तथा संस्थाहरूमा समेत आयोजनाबाट उत्पादित गुणस्तरीय दुग्धजन्य पदार्थहरु उपलब्ध गराउने लक्ष्य रहेको प्रमुख भट्टराइले बताए।

हाल आयोजनाको आफ्नै दूध संकलन केन्द्र कञ्चनपुरको बेलौरी, कैलालीको लम्कीको गुलरा तथा यही बैशाख महिना देखि टीकापुरको बसन्ता भन्ने ठाउँमा सञ्चालनमा रहेको संस्थानले जनाएको छ।

त्यसैगरी आयोजनाले दुग्ध प्रशोधन कारखानाबाट उत्पादित गुणस्तरीय दूध, दही, मोही, पनिर, घ्यू र आइसक्रिम लगायतका दुग्धजन्य पदार्थहरु आफ्नै भवनमा सुपथ मूल्य बिक्री केन्द्र स्थापना गरी बिक्री वितरण समेत गर्दै आएको छ।

वि.सं. २०६७ साल जेठ ३१ गते अत्तरियामा स्थापना भएको दुग्ध विकास संस्थान अन्तर्गतको उक्त आयोजना २०८२ साल पुस ११ गतेदेखि धनगढीको कनरीबाट सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार