सिफारिस

देउवालाई पृथ्वीबहादुर शाहको खुला पत्र: ‘गगन थापाले पार्टी जोगाउन सकेनन्, तत्काल फर्केर कांग्रेस बचाउनुस्’

नेपाली कांग्रेस अछामका जिल्ला सदस्य तथा सूचना, सञ्चार तथा प्रचार–प्रसार विभाग अछामका संयोजक पृथ्वीबहादुर शाह ले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा लाई खुला पत्र लेख्दै स्वदेश फर्केर पार्टीलाई एकताबद्ध बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
हाल स्वास्थ्य उपचारका लागि हङकङमा रहेका देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शाहले कांग्रेसभित्र बढ्दो आन्तरिक विवाद, संगठनात्मक अन्योल र कार्यकर्तामाझ बढ्दै गएको निराशाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
खुला पत्रमा शाहले पार्टीको वर्तमान अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै नेतृत्व तहबाट देखिएको कमजोरीका कारण संगठन कमजोर बन्दै गएको दाबी गरेका छन्। उनले पार्टीका महामन्त्री गगन थापा सहितको वर्तमान नेतृत्वले कार्यकर्ताको अपेक्षाअनुसार पार्टीलाई एकताबद्ध र सशक्त बनाउन नसकेको टिप्पणी गरेका छन्।
वडादेखि केन्द्रसम्म संगठनात्मक संरचना कमजोर बन्दै गएको, क्रियाशील सदस्यता अद्यावधिकलगायत विषयमा अन्योल बढेको तथा पुराना नेता–कार्यकर्ता भविष्यप्रति चिन्तित बनेको शाहको भनाइ छ।
देउवाको लामो राजनीतिक अनुभव, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान र पार्टीभित्रको प्रभावलाई स्मरण गर्दै शाहले वर्तमान संकटको घडीमा देउवाको सक्रिय हस्तक्षेप आवश्यक रहेको बताएका छन्। उनले देउवाको उपस्थितिले पार्टी कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकमा नयाँ ऊर्जा र आत्मविश्वास पैदा हुने विश्वास व्यक्त गरेका छन्।
पत्रमार्फत शाहले “पार्टीलाई थप कमजोर हुनबाट जोगाउन र कांग्रेसलाई पुनः एकताबद्ध बनाउन तत्काल स्वदेश फर्किन” देउवालाई आग्रह गरेका छन्।
पत्रको अन्त्यमा उनले देउवाको सफल उपचार, सुस्वास्थ्य तथा सुरक्षित स्वदेश फिर्ताको शुभकामना व्यक्त गरेका छन्।
बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका निवासी पृथ्वीबहादुर शाह नेपाली कांग्रेस अछामका जिल्ला सदस्य तथा सूचना, सञ्चार तथा प्रचार–प्रसार विभाग अछामका संयोजक हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार