सिफारिस

कैलालीमा पिकनिकमा झडप उग्र बन्दा प्रहरीमाथि पनि आक्रमण, तीन प्रहरीसहित ६ जना घाइते

धनगढी, १७ जेठ — कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन आएका दुई समूहबीच भएको कुटाकुट उग्र बन्दा घटनास्थल पुगेका प्रहरीमाथि समेत आक्रमण भएको छ। घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जेठ १४ गते भएको झडप नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि थप प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको थियो। घटनामा प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन्। घाइतेमध्ये बोहराको टाउको, हात र खुट्टामा चोट लागेको छ र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार झडपका क्रममा प्रहरी हवल्दार बुडालले प्रयोग गरेको मोटरसाइकलमा समेत क्षति पुगेको छ। त्यसपछि इलाका प्रहरी कार्यालय सुखडबाट थप प्रहरी टोली परिचालन गरी घटना नियन्त्रणमा लिइएको थियो।

घटनामा कैलारी गाउँपालिका–१ का गोकर्ण बोहरा, रामचरण चौधरी र नृप बोहरा पनि घाइते भएका छन्। गोकर्ण बोहराको हात र खुट्टाको शल्यक्रिया गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–११ का स्वरुप कठरिया, दिलिप कठरिया र अरमान कठरियालाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको ना ३ त १४२७ नम्बरको ट्र्याक्टर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार