सिफारिस

‘हनी ट्र्याप’ प्रकरणमा टिकटक स्टार तुलसी अधिकारी पक्राउ, ६ करोडभन्दा बढी ठगी र मनी लाउन्डरिङको आरोप

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सामाजिक मुद्दामा खुलेर बोल्दै चर्चामा रहेकी टिकटक स्टार तुलसी अधिकारी यतिबेला आफैं कानुनी संकटमा परेकी छन्। प्रहरीले उनलाई पक्राउ गरी ललितपुर प्रहरीको हिरासतमा राखेको छ।

प्रहरी अनुसन्धान तथा सरकारी अभियोजनअनुसार तुलसी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो।

पूर्व प्रेमी शंकर चिमोरियाले दिएको जाहेरीका आधारमा प्रहरीले लामो समय अनुसन्धान गरेको थियो। अनुसन्धानपछि तुलसीविरुद्ध हनी ट्र्याप (आपराधिक लाभ), ठगी, आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरी पाँचवटा कसुरमा अभियोग दर्ता गरिएको छ।

अभियोगपत्रअनुसार सहमतिमै भएको सम्बन्धलाई आधार बनाएर जबरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिँदै पीडितबाट करोडौँ रुपैयाँ असुलेको आरोप उनीमाथि छ। साथै उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठित रूपमा सम्पत्ति शुद्धीकरण गरेको दाबी पनि अभियोजन पक्षले गरेको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल घर भएकी ३२ वर्षीया तुलसी अधिकारीलाई यस मुद्दाको मुख्य प्रतिवादी बनाइएको छ। यसै प्रकरणमा निलिका (नेलिका) लामिछाने, मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु, अशोक कुमार अग्रवाल, सपना वली, मेघनाथ बस्याल, ‘कानो मामा’ भनिने प्रयास पोखरेल, गंगा अधिकारी सुवेदी, तुल्सा कलेक्सन प्रालि तथा एक फरार प्रतिवादीमाथि पनि कारबाहीको माग गरिएको छ।

मुद्दाकी अर्की प्रतिवादी नेलिका लामिछानेलाई भने प्रहरीले पक्राउ गरी साधारण जमानतमा रिहा गरिसकेको छ।

सामाजिक सञ्जालमा महिला अधिकार, सामाजिक न्याय र विभिन्न समसामयिक विषयमा मुखर रूपमा प्रस्तुत हुँदै आएकी तुलसी अधिकारी विगतमा पनि विभिन्न विवादका कारण चर्चामा आउने गरेकी थिइन्। उनका केही अभिव्यक्ति र भिडियोहरूलाई लिएर सामाजिक सञ्जालमा व्यापक बहस हुँदै आएको थियो।

यद्यपि, अदालतबाट अन्तिम फैसला नआएसम्म तुलसी अधिकारीसहित सबै प्रतिवादीहरू कानुनी रूपमा आरोपित मात्र हुन्। आरोप प्रमाणित गर्ने वा नगर्ने अन्तिम अधिकार अदालतलाई रहनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार