धनगढी, १४ जेठ । कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले एक विशेष समारोहका बीच अस्पताल उद्घाटन गर्दै यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताएका छन्।
लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको अस्पताल सेवा सुरु भएसँगै लम्कीचुहा नगरपालिका सहित आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। अस्पताल सञ्चालनमा आएपछि विशेषगरी कैलालीको उत्तरी भेगका नागरिकलाई सामान्य उपचारदेखि विशेषज्ञ सेवा लिनका लागि धनगढी तथा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले सहज रूपमा उपचार सेवा पाउनुपर्नेमा जोड दिँदै लम्कीचुहा प्रादेशिक अस्पताल त्यस दिशामा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।
अस्पताल उद्घाटन समारोहलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनले आवश्यक सुरक्षा व्यवस्था समेत मिलाएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले अस्पताल सञ्चालनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै अब नियमित, प्रभावकारी र स्तरीय स्वास्थ्य सेवा प्रवाह हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।
यता, लम्कीचुहा नगरपालिकाकी मेयर शुशिला शाही भने कार्यक्रममा अनुपस्थित रहिन्। स्रोतका अनुसार उनी हाल विदेश भ्रमणमा रहेकी छन्। मेयरको अनुपस्थितिलाई लिएर स्थानीयस्तरमा विभिन्न चर्चा समेत सुरु भएको छ।