सिफारिस

धनगढीमा बढ्दो विद्युत कटौतीले जनजीवन प्रभावित, सर्वसाधारण आक्रोशित

धनगढी । पछिल्लो समय धनगढीमा विद्युत कटौती अत्यधिक बढेको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन् । “लोडसेडिङ मुक्त” घोषणा भएको वर्षौँ बितिसक्दा पनि अहिले दैनिकजसो अनियमित रूपमा बत्ती जाने क्रम बढेको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार विशेषगरी नेपाल विद्युत प्राधिकरण को धनगढी कार्यालयमा प्रमुखका रूपमा सन्तोष राज पन्त आएपछि विद्युत अवरोध झन् बढेको अनुभव सेवाग्राहीले गरिरहेका छन् ।

“४६/४७ डिग्री सेल्सियसको अत्यधिक गर्मीमा पनि यति धेरै बत्ती गएको थिएन, अहिले ३८/४० डिग्रीमै दिनहुँ बत्ती जाने समस्या बढेको छ,” एक स्थानीय सेवाग्राहीले गुनासो गरे ।

विद्युत अवरोधका कारण सर्वसाधारणको दैनिक जीवन अस्तव्यस्त बन्दै गएको छ । अत्यधिक गर्मीका कारण धेरै नागरिक रातभर घरबाहिर सुत्न बाध्य छन् । बाहिर बस्दा मच्छरको टोकाइसँगै विषालु सर्प तथा किराको डरसमेत बढेको स्थानीय बताउँछन् ।

विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ भने उद्योग, कलकारखाना, विद्यालय, मिडिया हाउस लगायतका क्षेत्रसमेत प्रभावित बनेका छन् । विद्युत अवरोधले व्यवसायिक गतिविधिदेखि सञ्चार प्रवाहसम्म असर पारेको सेवाग्राहीको भनाइ छ ।

स्थानीयवासीको आरोप छ— पटक–पटक गुनासो गर्दा पनि सम्बन्धित निकायबाट “बन्दैछ”, “सुधार हुँदैछ” भन्ने आश्वासन बाहेक ठोस समाधान नआएको ।

उता कार्यालय प्रमुख भने आफू आएपछि सेवा सुधार भएको दाबी गरिरहेका छन् । तर सेवाग्राही प्रश्न गर्छन्—

“यदि यही सुधार हो भने समस्या कस्तो होला ?”

प्रतिक्रिया

सम्बन्धित समाचार