बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा मङ्गलबार बिहानैदेखि चाडपर्व झैँ माहोल देखियो । दमाहा बजाउँदै, टीकाटालो लगाउँदै, हलगोरु जोत्दै र असारे गीत गाउँदै स्थानीयहरू परम्परागत रोपाइँमा व्यस्त देखिन्थे ।
पाण्डुसैनको बाटुल्सेरामा एउटै गरोमा दर्जनौँ हलगोरु फेरो मार्दै थिए भने सयौँ स्थानीय रोपाइँमा सहभागी बनेका थिए । बिहानदेखि सुरु भएको रोपाइँ साँझसम्म चल्यो । रोपाइँ सकिएपछि पनि दमाहा बजाउँदै नाचगानसहित रोपाहार घर फर्किएका थिए ।
स्थानीय परम्परा अनुसार हरेक वर्ष जेठ १२ गते यहाँ विशेष उत्सवका रूपमा रोपाइँ गरिन्छ । “जो जहाँ भए पनि परिवारबाट एक जना रोपाइँमा सहभागी हुनैपर्छ,” स्थानीय अगुवा महिला राधिका बोहरा ले बताउनुभयो ।
स्थानीय विश्वास अनुसार जुम्ला राज्यकालमा तत्कालीन राजाले बाटुल्सेरा कैलाश देवतालाई खुसी बनाउन पाण्डुसैनमा यही दिन रोपाइँ गर्न आदेश दिएका थिए । त्यसयता यो परम्परा निरन्तर चल्दै आएको छ ।
रोपाइँका क्रममा कैलाश भगवान्को थानमा प्रतीकात्मक रूपमा धान रोप्ने तथा हिलो चढाउने चलन अझै कायम रहेको मदन बोहरा ले जानकारी दिनुभयो ।
जनक बोहरा का अनुसार पाण्डुसैनका १२ बोहरा परिवारका खेतमा एकैदिन रोपाइँ हुने गरेको छ । उहाँले यो परम्परा पुस्तौँदेखि निरन्तर रहेको बताउँदै द्वन्द्वकालमा समेत यसको निरन्तरता नटुटेको उल्लेख गर्नुभयो ।
पूर्ववडा सदस्य मनसुर लुहार ले रोपाइँका बेला दमाहा बजाएर सामूहिक रूपमा खुसी साट्ने चलन अझै जीवित रहेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र बाजुरा का प्रमुख जसीराम सहनी ले पाण्डुसैनमा हुने रोपाइँ बाजुराकै पहिलो रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार करिब ७२० रोपनी क्षेत्रफलमा धान खेती हुने यस क्षेत्रमा प्रतिरोपनी एक क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।