धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्टस्थित दैजी–बेलडाँडी सडकखण्डमा बुधबार राति बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना हुँदा एक बालिकासहित चार जना घाइते भएका छन् ।
राति सवा ८ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र।०१–००९ प ७६३० नम्बरको मोटरसाइकललाई अचानक बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । बाघ देखिएपछि मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।
दुर्घटनामा बेलौरी नगरपालिका–९ रतनपुरका चालक बिरेन्द्र ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य छ ।
मोटरसाइकल पछाडि सवार उनकी श्रीमती कल्पना ठगुन्नाको टाउको, अनुहार र दुवै खुट्टामा चोट लागेको तथा अवस्था मध्यम रहेको जनाइएको छ ।
यस्तै, २ वर्ष ६ महिनाका रियान्स ठगुन्नाको टाउको र अनुहारमा चोट लागेको छ भने मोटरसाइकलमै सवार भान्जी भीमदत्त नगरपालिका–१५ खैरिबस्तीकी १४ वर्षीया आरुसी साहुको टाउको, अनुहार र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनी अचेत अवस्थामा रहेको बताइएको छ ।
घाइते चारै जनालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।