सिफारिस

कोशीमा हावाहुरीको कहर : सुनसरीमा युवकको मृत्यु, झापा र मोरङमा व्यापक क्षति

विराटनगर । सोमबार साँझ आएको हावाहुरीका कारण कोशी प्रदेशका तीन जिल्लामा ठुलो मात्रामा धन जनको क्षति भएको छ ।

हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने भौतिक संरचनामा समेत ठुलो क्षति पुगेको छ । हावाहुरीका कारण उद्योग, कुखुरा फर्म र व्यक्तिका घरका छाना उडाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ आएको हावाहुरीका कारण सुनसरीमा एक युवकको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-४ मा हावाहुरीले उडाएर ल्याएको टिनले लागेर स्थानीय मोहम्मद जाहिदको मृत्यु भएको छ । मोटरसाइकलमा सवार मोहम्मद जाहिदको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको गौरादह नगरपालिका-७ मा पर्शुराम दाहालको कुखुरा फार्म पूर्ण रूपमा क्षति हुँदा ब्रोइलर कुखुरा मरेका छन् । यस्तै गौरादह ६ मा दुई वटा घरको छाना उडाएको छ । झापाकै हल्दीबारी गाउँपालिका–२ मा तीन वटा घरको घरको छाना उडाएको छ । यस्तै करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

हावाहुरीले दमक नगरपालिका-१० मा गरिमा इँटा भट्टाको भवनको टिनको छाना उडाएको छ । यस्तै झापाको मेचीनगर–१५ स्थित जय माँ कामाक्ष इण्डष्ट्रिज प्रालिको गोदाम तथा मेसको छाना उडाएको छ ।

त्यस्तै मेचीनगर-८ स्थित सूर्योदय कम्पनीको पार्किङ भवनको छाना उडेर दुई वटा बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीले झापाका विभिन्न पालिकामा घरको छाना उडाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार विभिन्न स्थानमा हावाहुरीका कारण बिजुलीको पाल लडेका छन् । हावाहुरीले पुर्‍याएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार