धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह को स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य सूचीमा देखिएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।
मुख्यमन्त्रीको सचिवालयमा प्रशासन सहायकका रूपमा कार्यरत चन्द्र बिकको नाम रास्वपाको सदस्य सूचीमा देखिएको हो।
तर, बिकले आफूले जानाजानी रास्वपाको सदस्यता नलिएको दाबी गरेका छन्। उनका अनुसार २०७९ सालको निर्वाचनका बेला रास्वपाकी केन्द्रीय सदस्य तथा आफ्नी श्रीमतीकी दिदी रूपा शंकर काभ्रे समानुपातिक उम्मेदवार आकांक्षी थिइन्। रास्वपामा आन्तरिक मतदानमार्फत उम्मेदवार छनोट हुने व्यवस्था रहेकाले उनले रुपालाई मतदान गर्न पार्टीको एप प्रयोग गरेका थिए।
‘सो क्रममा मोबाइल नम्बर र नागरिकता नम्बर मागिएको थियो। त्यही विवरण सदस्यताका रूपमा पनि दर्ता भएको रहेछ,’ बिकले भने, ‘यो पूर्ण रूपमा प्राविधिक तथा प्रक्रियागत त्रुटि हो, कुनै राजनीतिक उद्देश्यले लिइएको सदस्यता होइन।’
बिकले आफू हालसम्म रास्वपाको कुनै कार्यक्रम, बैठक वा गतिविधिमा सहभागी नभएको बताउँदै आफू नेपाली कांग्रेस सँग आवद्ध रहेको दाबी गरेका छन्। उनी नेपाल विद्यार्थी संघ का पूर्व केन्द्रीय सदस्यसमेत हुन्।