धनगढी । सरकारलाई आयकर नतिर्ने सूचीमा धनगढीका दुई निजी अस्पताल परेका छन्। आन्तरिक राजस्व कार्यालय धनगढीले सार्वजनिक गरेको सूचीमा धनगढी–३ चटकपुरस्थित मायामेट्रो हस्पिटल र एलएन चोकस्थित नोभा हस्पिटलको नाम समावेश गरिएको हो।
मंगलबार गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरिएको सूचनाअनुसार आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने ५३ व्यवसायिक फर्मको नाम सार्वजनिक गरिएको छ। ती सबै फर्मलाई १५ दिनभित्र बक्यौता कर बुझाउन निर्देशन दिइएको छ। तोकिएको अवधिमा कर नबुझाए कानुनबमोजिम असुलउपर गरिने चेतावनी पनि दिइएको छ।
राजस्व कार्यालयले आर्थिक गोपनीयताको कारण फर्महरूले तिर्न बाँकी रकम भने सार्वजनिक गरेको छैन। कार्यालयका अनुसार कम्तीमा २० लाख रुपैयाँभन्दा बढी कर बक्यौता रहेका फर्महरूको नाम मात्र सूचीमा राखिएको हो।
सूचीमा रहेका ५३ फर्ममध्ये कम्तीमा पाँच वटा फर्मले एक करोड रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी रहेको बताइएको छ। कार्यालयले सूचना जारी गरेपछि बक्यौता रहेका केही व्यवसायी सम्पर्कमा आउन थालेको जनाएको छ।