सिफारिस

सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक प्रवेश, अब छलफल र संशोधन प्रक्रिया अगाडि बढ्ने

जेष्ठ ११, कैलाली ।
सुदूरपश्चिम प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत सोमबार बसेको दोस्रो बैठकमा दुईवटा महत्वपूर्ण विधेयक टेबल गरिएको छ । प्रदेश सभामा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” तथा “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” पेश गरिएको हो ।
सामाजिक विकास मन्त्री मेघराज खड्का ले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१) बमोजिम उक्त विधेयकहरू सभा समक्ष टेबल गर्न प्रस्ताव गर्नुभएको थियो । बैठकले दुवै विधेयक सदनमा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएको हो ।
यसअघि वैशाख १७ गते नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले लामो समयदेखि संसद सचिवालयमा दर्ता भएर पनि प्रक्रियामा अगाडि नबढेका यी विधेयकहरू तत्काल सदनमा पेश गरी छलफल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय गरेको थियो । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाह को अध्यक्षतामा बसेको बैठकले विधेयकहरू रोकिँदा संसदको कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै गम्भीर ध्यानाकर्षण जनाएको थियो ।
प्रदेश सरकारले “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक” २०८१ चैत ३ गते संसद सचिवालयमा दर्ता गराएको थियो भने “बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक” २०८२ जेठ २१ गते दर्ता गरिएको थियो । लामो समयसम्म सचिवालयमै थन्किएका यी विधेयकहरू सदनमा प्रवेश गराउन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले निरन्तर दबाब दिँदै आएको थियो ।
प्रदेश सभामा विधेयक टेबल भएसँगै अब दुवै प्रस्तावमाथि विस्तृत छलफल, संशोधन तथा पारित प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ । विशेषगरी थारु समुदायको परम्परागत बरघर तथा भलमन्सा प्रथाको संरक्षण र व्यवस्थापनका साथै टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना सम्बन्धी विषयलाई प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार