सिफारिस

“देशभर कार्यक्रम सफल बनाएर देखाउनुस्” : गगन थापामाथि नेविसंघ कैलाली अध्यक्ष मनिष कुँवरको खुला चुनौती

नेपाली कांग्रेसको एकता र पुनर्जागरणका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा नेविसंघ कैलालीका जिल्ला अध्यक्ष मनिष कुँवर ले कांग्रेस नेता गगन थापा प्रति कडा टिप्पणी गर्दै खुला चुनौती दिएका छन्।

भेलालाई सम्बोधन गर्दै कुँवरले पार्टीभित्र अनुशासन, संगठन र नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै गगन थापालाई “विशेष सभापति” भन्दै व्यंग्यसमेत गरे। उनले पार्टीभित्रको आन्तरिक अवस्था सुधार्न नसक्ने नेतृत्वले बाहिर परिवर्तनको नारामात्र दिएको आरोप लगाए।

कुँवरले भने,
“वडा सभापतिदेखि जिल्ला सभापतिसम्म कारबाही गरेर देखाउनुस्, देशभर पार्टीका कार्यक्रम सफल बनाएर देखाउनुस्, हामी जिन्दगीभर तपाईंलाई सभापति मान्न तयार छौं।”

उनले कांग्रेसभित्र गुटगत राजनीति, नेतृत्वबीचको अविश्वास र कार्यकर्ताको उपेक्षा बढ्दै गएको दाबी गर्दै अब भाषणभन्दा व्यवहारिक काम आवश्यक रहेको बताए। कार्यक्रममा उनले पार्टीभित्र युवाहरूको भूमिका कमजोर बनाइएको भन्दै नेतृत्व तहप्रति असन्तुष्टि पोखेका थिए।

भेलामा सहभागी नेता तथा कार्यकर्तामाझ कुँवरको अभिव्यक्तिले निकै चर्चा पाएको थियो। उनले पार्टी पुनर्जागरणका लागि नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने र कार्यकर्ताको भावना बुझेर अघि बढ्नुपर्ने धारणा राखे।

सुदूरपश्चिम प्रदेशस्तरीय उक्त भेलामा नेपाली कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता तथा भ्रातृ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार