सिफारिस

भोटेकोशी बाढी: सुदूरपश्चिमका ८५ जना नागरिक अझै सम्पर्कविहीन

धनगढी । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा चार जना सुरक्षाकर्मीसमेत छन् । तीन प्रहरी र एक सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका हुन् । बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेकाहरूमा सबैभन्दा धेरै कञ्चनपुरका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५ र बाजुराका १४ जना सम्पर्कविहीन छन् । यस्तै बैतडीका चार, डोटीका दुई र अछामका एक जना सम्पर्कविहीन भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ‘जिल्ला–जिल्लाबाट विवरण संकलन भइरहेको छ,’ एसएसपी बिष्टले भने, ‘प्राप्त विवरणअनुसार अहिले ८५ जना सम्पर्कविहीन देखिएका छन् ।’ प्रदेश प्रहरीले प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार