
१० माघ, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ मा जनस्वास्थ्य अभियन्ता आनन्द चन्दलाई उम्मेदवार बनाएको छ।
शिक्षा, विज्ञान, सुशासन तथा जनस्वास्थ्य क्षेत्रमा दशकौँदेखि सक्रिय चन्द यस क्षेत्रमा परिचित अभियन्ता हुन्। कैलाली–५ मा कांग्रेसबाट नरनारायण शाह र नेकपाबाट प्रेम आले प्रतिस्पर्धामा छन्।
पुर्खौली थलो बैतडी रहेका चन्दको परिवार पछि कैलाली बसाइँ सरेको हो। हाल धनगढी उपमहानगरपालिका–८ का स्थायी बासिन्दा चन्द त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकको रूपमा कार्यरत थिए।
जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका चन्दले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए एन्ड टी स्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी गरेका छन्। उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।
चन्द सुर्तीजन्य पदार्थ नियन्त्रण, धूम्रपान निषेध अभियान तथा नसर्ने रोगविरुद्धका नीतिगत सुधारका लागि सक्रिय अभियन्ता समेत हुन्। चित्रसहित चेतावनी, विज्ञापन नियन्त्रण तथा कडाइका कानुन कार्यान्वयनमा उनले सरकारलाई दबाब र सहकार्य गर्दै आएका छन्।
रास्वपाबाट उम्मेदवार बनेपछि चन्दले शनिबारदेखि चुनावी प्रचारप्रसार सुरु गरेका छन्।