सिफारिस

सीके राउतको आरोप : सेना, प्रहरी र शासकले मधेसमा दंगा फैलियोस् र काटमार होस् चाहन्छन्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सुनसरीको देवानगञ्जमा भएको घटनापछि सरकार, नेपाल प्रहरी र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् ।

राउतले मधेसमा सामाजिक तथा साम्प्रदायिक सद्भाव कमजोर हुने वातावरण सिर्जना भएको दाबी गर्दै राज्य संयन्त्रको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले भने, “नेपाली सेना, प्रहरी र शासकहरूले त चाहेकै यही छन् कि मधेसी, आदिवासी–जनजाति, मुस्लिम, थारु र दलित कहिले एक नहोस्, मधेसमा दंगा फैलियोस् र काटमार होस् ।”

राउतले सामाजिक सञ्जालमा द्वेषपूर्ण अभिव्यक्ति, हिंसात्मक गतिविधि र उक्साहटपूर्ण सामग्री खुलेआम फैलिँदा पनि सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय नभएको आरोप लगाए ।

उनले भने, “आज कुनै एउटा मन्त्रीको बारेमा केही लेख्नुस्, एक घण्टापछि प्रहरी हिरासतमा पुग्न सकिन्छ । तर। समुदाय–समुदायबीच घृणा फैलाउने, हिंसामा उक्साउने गतिविधिमा सम्बन्धित निकायहरू मूकदर्शक बनेका छन् ।”

राउतले मधेसमा देखिने विभिन्न विवाद र त्यसको व्यवस्थापनका विषयमा सरकारको नीतिमाथि पनि प्रश्न उठाएका छन् । उनले मधेसमा शान्ति, मेलमिलाप र विश्वासको वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् ।

उनले भने, “अहिले जुन समाजमा हिंसात्मक द्वन्द्व रोपिँदैछ र अराजकता फैलिँदैछ, त्यसको घाउ भर्न र समाजमा विश्वास पुनः जाग्न कति वर्ष वा दशक लाग्ला ?”

राउतले आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान परिस्थितिमा सबै पक्षले संयमता अपनाउन, संवादमार्फत समाधान खोज्न र समाजमा मेलमिलाप तथा आपसी विश्वास कायम गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार