धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का स्थानीय लोकनाथ योगीले आफूलाई घर नजिकै डेरा गरी बस्ने एक युवक र एक युवतीले धम्की दिएको बताएका छन्।
योगीका अनुसार हिजो राति करिब ८ बजेको समयमा घर अगाडिको घरमा भाडामा बस्दै आएका युवक–युवतीले “कुट्छु, मार्छु” भन्दै धम्की दिएका हुन्।
योगीले घटनाबारे प्रहरी प्रशासनलाई जानकारी गराइसकेको बताउँदै आफ्नो तथा समाजको सुरक्षाको माग गरेका छन्। उनले ती व्यक्तिहरू लागू औषध प्रयोगकर्ता जस्तो व्यवहार र हाउभाउमा देखिएको दाबी समेत गरेका छन्।
घटनाको जानकारी पाएलगत्तै चटकपुर प्रहरी बिटका इन्चार्ज डबलबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उक्त घरमा डेरा गरी बस्ने व्यक्तिहरूसँग सोधपुछ गरेको जनाएको छ।
सोधपुछपछि घरधनी र सम्बन्धित भाडावालालाई सम्झाइ–बुझाइ गरिएको प्रहरीले जनाएको छ।
उजुरीकर्ता लोकनाथ योगीले समाजको हितका लागि नागरिकको जिम्मेवारी निभाउँदै घटनाबारे खुलेर जानकारी गराएको भन्दै स्थानीयवासीहरूले उनको प्रशंसा गरेका छन्।