सिफारिस

कैलालीमा ठूलो परिमाणमा लागूऔषधसहित आठ जना पक्राउ

धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन र चरेससहित आठ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक समेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–१६ बाट १ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र एक थान डिजिटल काटासहित स्थानीय सुरेश बोहरालाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१७ बाट ३१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय सुरेश चौधरी पक्राउ परेका छन्।

कैलारी गाउँपालिका–७ हौसलपुरबाट २४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित भारतको लखिमपुर खिरी बेलापर्शुवा निवासी ४७ वर्षीय हरि चन्द्र कठरिया पक्राउ परेका छन्।

यस्तै, टिकापुर नगरपालिका–७ डाँडाबनबाट ८ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५७० मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थसहित टिकापुर नगरपालिका–२ राजिपुर निवासी ३३ वर्षीय सञ्जय नगार्जीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, लम्कीचुहा नगरपालिका–४ भल्काबाट २ ग्राम ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३१ वर्षीय गणेश थापा पक्राउ परेका छन्।

प्रहरीका अनुसार विभिन्न स्थानबाट पक्राउ परेका आठै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार