सिफारिस

रवि लामिछानेको जस्तो विशाल हृदय मेरो छैन, गगनलाई क्षमा गर्न सक्दिनँ : रमेश प्रसाईँ

काठमाडौं । रास्वपाका सहप्रवक्ता रमेश प्रसाईँले आफ्नो पार्टी सभापति रवि लामिछानेले महाधिवेशनमा कांग्रेस सभापति गगन थापालाई बोलाएर उच्च राजनीतिक चरित्र प्रदर्शन गरेको बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूको लडाइँ गगन, विश्वप्रकाश पुस्तासँग नभएको बताए।

उनले भने, ‘गगन थापालाई आमन्त्रण गरेर हाम्रो पार्टी सभापतिले र महाधिवेशनमा सहभागी भएर गगन थापाले उच्च राजनीतिक चरित्र प्रदर्शन गर्नुभयो । उहाँले हामी तपाईँहरूको दुस्मन होइन भन्नुभयो । तर गगन थापा, विश्वप्रकाशहरूको पुस्तासँग हाम्रो लडाइँ छँदै थिएन ।’

उनले आफूहरूको राजनीतिमा पुस्तान्तरणको अभियानमा गगन थापाले देखाएको व्यवहारप्रति आक्रोश पोखे ।

उनले थपे, ‘पुरानो प्रवृत्तिविरुद्ध हामी लड्दै गर्दा गगन थापाहरूको तर्फबाट हामीप्रति जुन व्यवहार भयो, त्यो कुनै दुस्मनको भन्दा कम थिएन । तर, मेरो पार्टी सभापतिले असाध्यै विशाल हृदय राखेर हाम्रा वैमनस्यताहरू आजैको दिन देखि अन्त्य हुनुपर्छ । राष्ट्रिय मुद्दामा सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । यति ठूलो हृदय रवि लामिछानेसँग मात्रै छ, म त्यति महान् छैन म साधारण व्यक्ति हुँ । म गगन थापालाई व्यक्तिगत रूपमा आज पनि क्षमा गर्न सक्दिनँ ।’

उनले भ्रष्टाचार, परिवारवादविरुद्ध पार्टी र सरकार निर्मम ढङ्गले अघि बढ्ने बताए । प्रसाईँले सरकारले सहकारी पीडितहरूले धमाधम बचत फिर्ता पाउन थालेको बताए। सहकारी पीडितलाई सहकारीहरूकै ऋण असुली गरेर पैसा फिर्ता गरेको जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार