सिफारिस

सरकारमा भय र आतंक सिर्जना गरी शासन गर्ने प्रवृत्ति देखियो : योगेश भट्टराई

२ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले वर्तमान सरकारले पाँच वर्ष पूरा कार्यकाल काम गरोस् भन्ने आफूले चाहेपनि अवस्था त्यस्तो संकेत नगरेको बताएका छन् । शुक्रबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो सरकार करिब ६ महिना व्यतित हुनलागेको छ । सरकारको समग्रताको मूल्यांकन गर्ने बेला भएको छैन । यो सरकार जनताले दिएको म्यान्डेटअनुसार पूर्ण कार्यकाल पाँच वर्ष काम गरोस् भन्ने हामी चाहन्छौं । अर्को अस्थिरता नहोस् भन्ने हाम्रो पार्टी र हाम्रो सदीक्षा छ,’ नेता भट्टराईले भने, ‘तर, बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै गएको पाँच/छ महिनाले सरकारको गति–मति सही ट्र्याकमा देखिन्न ।’

लोकतन्त्र, कानुनी राज्य र संविधानको सर्वोच्चतालाई मान्ने व्यवस्थामा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वैयक्तिक स्वतन्त्रता जस्ता विषय अक्षुण्ण रहेको उनले बताए । ‘जुनसुकै सरकार आएपनि यसलाई परिपालन गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले कानुनी शासन, संविधानको सर्वोच्चता र खुला समाज जस्ता कुरामा  यो सरकार चुकिरहेको मलाई लाग्छ,’ उनले भने ।

सरकारका तर्फबाट भय र आतंक सिर्जना गर्ने, मानिसलाई भयभित बनाउने अनि शासन गर्ने प्रवृत्ति अहिले सरकारमा देखिएको उनले टिप्पणी गरे ।

‘हामी भन्दछौं–सरकारको काम सहजीकरण गर्ने हो, आतंक मच्चाउने होइन,’ उनले भने, ‘सरकारको काम जनतामा विश्वास र भरोस सिर्जना गर्ने हो, आतंक सिर्जना गर्ने होइन ।’ मान्छेलाई धम्क्याएर, तर्साएर शासन गर्ने कुरा लोकतान्त्रिक हुन नसक्ने उनले बताए ।

‘यो सरकारको गतिविधि हामी त्यतातिर देख्छौं, विभिन्न घटनाक्रमहरूमा,’ उपमहासचिव भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार