काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ।
हाल अधिकांश एटीएममा ५०० र १,००० रुपैयाँ दरका नोट मात्रै उपलब्ध हुँदै आएका छन्। सर्वसाधारणको सानो रकमको नगद आवश्यकता पूरा गर्ने उद्देश्यले अब एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार सबै एटीएममा अनिवार्य रूपमा १०० रुपैयाँका नोट राख्नुपर्ने व्यवस्था भने गरिएको छैन। बैंक तथा वित्तीय संस्थाले आवश्यकता र सम्भाव्यताका आधारमा निश्चित एटीएममा १०० रुपैयाँका नोट उपलब्ध गराउन सक्नेछन्।
डिजिटल कारोबार बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थामा ग्राहकको प्रत्यक्ष भौतिक उपस्थिति घटिरहेको अवस्थामा सानो रकमको नगद आवश्यकता एटीएमबाटै पूरा गर्ने उद्देश्यले यो व्यवस्था अघि सारिएको पौडेलले बताए। यसबाट बजारमा १०० रुपैयाँका नोटको वितरणसमेत बढ्ने राष्ट्र बैंकको अपेक्षा छ।
नेपालमा ५ हजारभन्दा बढी एटीएम सञ्चालनमा रहेकाले सबै एटीएममा १०० रुपैयाँका नोट राख्न व्यवहारिक कठिनाइ हुन सक्ने राष्ट्र बैंकको भनाइ छ। त्यसैले तोकिएका एटीएमबाट नियमित रूपमा १०० रुपैयाँका नोट वितरण गर्ने अवधारणा अघि सारिएको हो।
हाल बैंकहरूले एटीएममा तुलनात्मक रूपमा ठूला दरका नोट राख्ने गरेका छन्। यसो गर्दा एकैपटक धेरै रकम राख्न सकिने र पटकपटक एटीएममा नोट रिफिल गर्नुपर्ने झन्झट कम हुन्छ। तर १०० रुपैयाँका नोट राख्दा समान रकमका लागि धेरै नोट आवश्यक पर्ने भएकाले एटीएममा बारम्बार रिफिल गर्नुपर्ने हुन्छ। यही कारण सबै एटीएममा १०० रुपैयाँका नोट अनिवार्य नगरिएको राष्ट्र बैंकले जनाएको छ।
एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न मिल्ने भएपछि सर्वसाधारणले आवश्यकता अनुसार सानो रकमसमेत सहजै निकाल्न सक्नेछन्। साथै, एटीएममा प्रयोग हुने नोट तुलनात्मक रूपमा नयाँ र सफा हुने भएकाले सुकिला १०० रुपैयाँका नोट सर्वसाधारणको हातमा पुग्ने अपेक्षा राष्ट्र बैंकको छ।
यो व्यवस्थाले विशेषगरी चाडपर्वका बेला सेवाग्राहीलाई थप सहज हुने देखिएको छ। यद्यपि, यो व्यवस्था चाडपर्वलाई मात्र लक्षित गरेर ल्याइएको भने होइन।
ग्राहकले १०० रुपैयाँका नोटको कति प्रयोग गर्छन् र यसको प्रभाव कस्तो हुन्छ भन्ने समीक्षा गरेर आगामी दिनमा यसलाई निरन्तरता दिने वा थप नीतिगत व्यवस्था गर्नेबारे निर्णय गरिने प्रवक्ता पौडेलले बताए।