सिफारिस

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि सार्वजनिक स्थलमै दुर्व्यवहार तथा हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटा र कुँवरबीच भनाभन भएको थियो। त्यसक्रममा कुँवरले वडाध्यक्षको घाँटी समातेर प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको छ।

घटनालगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको कसुरमा किटानी जाहेरी दिएका छन्। हाल कुँवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता पत्रकार कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्षले आफूमाथि पहिले दुर्व्यवहार गरेपछि प्रतिकारस्वरूप उक्त घटना भएको दाबी गरेकी छन्।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्यसमेत रहेकी कुँवर संलग्न घटनाप्रति पत्रकार समुदायले चासो व्यक्त गरेको छ। अधिकांश पत्रकारहरूले घटनाले पत्रकारिताको मर्यादा र व्यावसायिक आचरणमाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार