काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई जोखिमपूर्ण सूची ‘ग्रे लिस्ट’ को सूचीमा यथावत् राखेको छ । नेपाल सम्पत्ति शुद्धीकरणको यो खैरो सूचीबाट बाहिर निस्किन असफल भएको हो ।
एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको ग्रे लिस्टमा निरन्तरता दिएको हो । सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको पहल कमजोर हुँदा गत फागुन ९ गते यो सूचीमा परेको नेपाल यसबाट बाहिर निस्किन नसकेको हो ।
एफएटीएफका अनुसार एसिया प्यासिफिक ग्रुप (एपीजी) ले औँल्याएका कमजोरी नेपालले सुधार गर्न सकेको छैन । यसअघि एपीजीले तेस्रो पल्ट गरेको मूल्यांकनमा सुधारको चित्त बुझ्दो आधार नपाएका कारण नेपाललाई खैरो सूचीमा राखिएको थियो ।
नेपाललाई एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले २०८१ फागुन ९ गते ग्रे लिस्टमा राखेको थियो । विशेष गरी अवैध धन नियन्त्रणमा अनुसन्धान र अभियोजन कमजोर भएका कारण नेपाल ग्रेलिस्टमा परेको थियो ।
नेपालले सन् २०२७ को फेब्रुअरीसम्ममा एफएटीएफको खैरो सूचीबाट बाहिर आउने तयारी गरेको छ । नेपालले ग्रे लिस्टबाट निस्कनका लागि १५ वटा एक्सन प्लानहरूमा काम गरिरहेको छ ।