धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रदेश सदस्य पदका लागि नन्दराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक सेवा, अधिकारका सवाल र जनसरोकारका विषयमा सक्रिय रहँदै आएका भट्टले “संघर्ष मेरो परिचय, सेवा मेरो लक्ष्य” भन्ने नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका भट्ट अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सामाजिक न्यायका लागि निरन्तर आवाज उठाउँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाको विषय नभई समाज परिवर्तन, सुशासन र नागरिकको आवाजलाई निर्णय प्रक्रियाको केन्द्रमा पुर्याउने अभियानको हिस्सा भएको बताएका छन्।
भट्टले सुदूरपश्चिम प्रदेशमा विकासका सम्भावना प्रशस्त भए पनि प्रभावकारी नेतृत्व, पारदर्शिता र जवाफदेहिताको अभावका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै प्रदेशलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास तथा सामाजिक समावेशिताका विषयलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।
“जीवनमा अनेक चुनौती र संघर्षहरू पार गर्दै यहाँसम्म आइपुगेको छु। ती अनुभवहरूले मलाई नागरिकका दुःख, पीडा र आवश्यकतासँग अझ नजिक बनाएको छ,” भट्टले भने, “प्रदेशको समग्र विकास, सुशासन प्रवर्द्धन र जनताको विश्वासलाई कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नेछु।”
उनले विशेषगरी अपाङ्गता भएका व्यक्ति, महिला, युवा, ज्येष्ठ नागरिक तथा राज्यका सेवाबाट पछाडि पारिएका समुदायको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशको नीति निर्माण र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्दै जनमुखी कार्यक्रमहरू अघि बढाउने उनको भनाइ छ।
भट्टको प्रचार सामग्रीमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ सहित “घण्टी बजाऔं, परिवर्तन ल्याऔं” भन्ने सन्देश समावेश गरिएको छ। समर्थकहरूले उनको उम्मेदवारीलाई संघर्ष, इमानदारी, सामाजिक सेवाप्रतिको समर्पण र परिवर्तनको चाहनासँग जोडेर हेरेका छन्।
रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ। यसैक्रममा नन्दराज भट्टको उम्मेदवारीले संगठनभित्र र कार्यकर्तामाझ थप चर्चा पाएको छ।