धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य भोजबहादुर महरा ‘भूपेश’ ले पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। असार १ गते हुने अधिवेशनमा नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
हाल रास्वपाको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको भूमिकामा रहेका महराले पार्टीलाई अझ व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन आफूले भूमिका खेल्न चाहेको बताएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकाका स्थायी बासिन्दा महरा पार्टी स्थापनाकालदेखि नै संगठन निर्माण र विस्तारमा सक्रिय रहँदै आएका छन्।
उम्मेदवारी घोषणासँगै उनले सुशासन, पारदर्शिता, जवाफदेही नेतृत्व, युवाको सहभागिता र संगठनको संस्थागत विकासलाई आफ्नो मुख्य प्रतिबद्धता बनाएका छन्। सुदूरपश्चिमका नागरिकका आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने र जनतासँग प्रत्यक्ष जोडिने संगठन निर्माणमा आफू केन्द्रित रहने उनले बताएका छन्।
“राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्छ,” भन्दै महराले इमानदार र उत्तरदायी नेतृत्वमार्फत पार्टीप्रति जनविश्वास अझ बलियो बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्। उनले प्रदेशका प्रतिनिधि तथा पार्टी सदस्यहरूलाई परिवर्तन र सुधारको अभियानमा साथ दिन आग्रह गरेका छन्।
रास्वपाको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनलाई पार्टीको संगठनात्मक यात्रामा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यही अधिवेशनबाट चयन हुने नेतृत्वले प्रदेशमा पार्टीको भावी दिशा तय गर्ने भएकाले उम्मेदवारहरूबीच चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ।